सप्तकोसीको बाँध फुट्यो, ४ हजारभन्दा बढी घरपरिवार जोखिममा
अखबार टुडे
प्रकाशित:
२०७९, १८ श्रावण

काठमाडौ., १८ साउन । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधबार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको छ । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् ।

नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ भन्ने यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए । सोमवार नै बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नभएको बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले जानकारी दिए । सप्तकोसी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताएका छन् ।

उनले भने, ‘कोसीको पुरै भंगालो पसेको छैन, बाढी ओभरफलो भएको हो ।’ सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए । नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो ।

बेलका नगरपालिका– ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो । नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गुनासो छ ।

सप्तकोसीले धार परिर्बतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेका छन् । उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा सप्तकोशी नदि फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका छन् ।

सुनसरीको भाण्टाबारी कोसी व्यारेजदेखि उत्तर बराह क्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ । कोसी व्यारेज निर्माण गरे देखिको सो सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग वर्षेनी कटान र डुबानमा पर्दै आएको हो ।

प्रतिक्रिया