खेल मैदानमै किरणले गरे प्रेमिकालाई विवाहको प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७९, १७ श्रावण

काठमाडौं, १७ साउन । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेमजोङले खेल मैदानमा प्रेमिकालाई विवाहको प्रस्ताव रखेका छन् ।

सोमबार माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले फुटबल मैदानमै आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् ।

किरणले आफ्नो टिमको साथमा प्रेमिकालाई मैदानमै विवाह प्रस्ताव गरेको भिडियो सामाजिकसञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु’, उनले थपेका छन्, ‘मेरो जीवनमा बहार बनेर आइदिएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । मेरो जीवनको उतार चढावमा पनि तिमीले मलाई सधैँ साथ दियौ, हाँस्न सिकायौ । साँच्चै भन्नुपर्दा म असाध्यै खुसी छु । आहा कति मिठो पल, यो दिनलाई मेरो अन्तिम साससम्म बिर्सने छैन ।’

अहिले मैदानमा नै किरणले प्रेम प्रस्ताव राखेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए ।

सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जितेका थिए । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर पनि बने ।

प्रतिक्रिया