रुसी आक्रमणमा मारिए युक्रेनका धनाढ्य व्यापारी
अखबार टुडे
प्रकाशित:
२०७९, १६ श्रावण

काठमाडौं, १६ साउन । युक्रेनका धनाढ्य व्यापरी र उनका श्रीमती बमबारीमा मारिएका छन् ।

युक्रेनको दक्षिणी सहर मिकोलाइभस्थित आफ्नो घरमा आइतबार राति रुसी क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएका हुन् ।

वादातुर्स्की अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिक थिए । वादातुर्स्की ‘हिरो अफ युक्रेन’ उपाधि समेत पाएका थिए । फोर्ब्सका अनुसार सन् २०२० मा उनीसँग ४५ करोड डलर बराबरको सम्पत्ति थियो ।

उक्त क्षेत्रका नेताले वादातुर्स्कीको व्यापार र कृषिमा ठूलो योगदान रहेको बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले वादातुर्स्कीको निधनबाट ठूलो क्षति भएको बताएका छन् ।

मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन् । बमबारीका कारण होटेल, खेलकुद भवन, दुईवटा विद्यालय र सेवा केन्द्रसहित घरहरूमा क्षति पुगेको छ । मिकोलाइभ ओडेसाको मुख्य बाटोमा अवस्थित छ ।

यसैबीच रुसले सन् २०१४ मा कब्जा गरेको क्राइमियामा मनाउन लागेको जल सेना दिवस स्थगित गरेको छ । ब्ल्याक सी क्षेत्रमा युक्रेनको ड्रोन आक्रमणका कारण उक्त कार्यक्रम रद्द गरिएको स्थानीय गभर्नरले बताएका छन् ।

रुस नियन्त्रित क्राइमियाका एक जना सांसदले ड्रोन हमलाका दोषीको खोजी भइरहेको बताएका छन् । तर युक्रेनी अधिकारीहरूले भने रुसको दाबीलाई उत्तेजना फैलाउने काम भनेका छन् ।

यसैबीच युक्रेनको उत्तरी सहर खार्किभमा पुन रुसी क्षेप्यास्त्रहरू प्रहार भएको त्यहाँका मेयरले बताएको बीबीसीले जनाएको छ । रुसले प्रहार गरेको क्षेप्यास्त्रले एक विद्यालयको मुख्य भवन ध्वस्त भएको बताइएको छ ।

प्रतिक्रिया