भारतबाट दोस्रो पटक घटेर आयो पेट्रोलियमको मूल्य
अखबार टुडे
प्रकाशित:
२०७९, १६ श्रावण

काठमाडौं, १६ साउन । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको नयाँ मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।

योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा जाने देखिएको छ । अब मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । तर डिजलमा भने प्रतिलिटर १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि नेपाल आयल निगमले भने मूल्य समायोजन गरेको थिएन ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

प्रतिक्रिया