जनार्दन शर्मा २५ दिनपछि पुनः अर्थमन्त्रीमा कम्ब्याक : भने- देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध छु
अखबार टुडे
प्रकाशित:
२०७९, १५ श्रावण

काठमाडौ., १५ साउन । जनार्दन शर्मा २५ दिनपछि पुनः अर्थमन्त्रीमा कम्ब्याक भएका छन् । उनले आइतबार नै पदभार ग्रहण गरेका छन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेपछि शर्माले मन्त्रीबाट राजीनामा दिएका थिए ।

आइतबार अर्थमन्त्रीमा पुनः नियुक्त भएपछि अर्थमन्त्री शर्माले भने– ‘देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध छु ।’ उनीमाथि छानविन गर्न गठित संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

आइतबार अर्थमन्त्री शर्माले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै विश्वको आर्थिक अवस्थामा समस्या रहेको अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नु आवश्यक रहेको बताए ।

‘नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ । हामीले नयाँ बजेट तयार गरेका थियाँै । त्यो पारित भएर कार्यान्वयनको चरणमा छ । त्यसको मूल उद्देश्य सिद्धान्त आयात प्रस्थापन गर्नु,उत्पादन वृद्धि गर्नु, वैदेशिक मुद्दा सञ्चित गर्नु तीन वटा मूलभूत उद्देश्यमा केन्द्रित भएर समग्र बजेट नीति तथा कार्यक्रम बनाएका हौँ,’ उनले भने, ‘अहिले विश्वको आर्थिक अवस्था विभिन्न युद्धका कारणले एक खालको समस्यादेखि राखेको छ । यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता छ । मैले भनेको सिद्धान्त र सो सिद्धान्तमा निर्मित बजेटले त्यो दिशातिर लग्ने विश्वास छ ।’

आफूलाई पुनः अर्थमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका नेतालाई उनले धन्यवादसमेत दिए ।

सो क्रममा उनले मन्त्रालयका सचिव तथा कर्मचारीसँग मिलेर काम गर्न चाहेको बताए । कर्मचारीको साथ र सहयोग पाउनेमा विश्व व्यक्त गर्दै उनले गत वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा समीक्षा गरेर कमजोरी भए त्यसलाई कसरी हटाउन सकिन्छ ? भन्ने बारेमा समीक्षासहित आगामी दिनमा बजेट कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया