कर छली मुद्दामा फसिन् शकिरा: ८ वर्ष जेल सजायको माग
अखबार टुडे
प्रकाशित:
२०७९, १५ श्रावण

काठमाडौं, १५ साउन (एजेन्सी) । कोलोम्बियाका चर्चित पपस्टार शकिरा फेरि चर्चामा छिन् । तर, उनी आफ्नो गीत वा कुनै प्रेमको कारण नभई कर छलीको आरोपका कारण चर्चामा आएकी हुन् ।

स्पेनमा अभियोजनकर्ताले यस मुद्दामा उनीमाथि आठ वर्षको जेल सजाय र ३४ मिलियन युरो क्षतिपूर्तिको मागदाबी गरेका छन् । सन् २०१२ देखि २०१४ सम्म शकिराले १४.५ मिलियन कर छली गरेको आरोप सहितको मुद्दा अहिले अदालतमा पुगेको हो ।

यस हप्ताको सुरुवातमा शकिराले मुद्दालाई सुल्झाउने र बन्द गर्ने प्रस्तावलाई अस्वीकार गरेका थिए । शकिराका प्रतिनिधिले भनेका छन्, ‘उनी आफू निर्दोष हुने कुरामा पूर्ण विश्वस्त छिन् र यो मुद्दालाई उनी आफ्नो अधिकार उल्लंघनको रुपमा हेर्छिन् ।’

सन् २०१२ देखि २०१४ को बीचमा स्पेनमा बस्दै आएकी उनले आफ्नो निजी निवासलाई कतै स्थानान्तरणको प्रयास गरेकी थिइन् । स्पेनमा ६ महिनाभन्दा बढी समय बिताउने बासिन्दालाई कर प्रयोजनका लागि योग्य मानिने कानुन छ । तर उक्त समयमा प्राय आफू स्पेनमा नबसेको शकिराको दाबी छ ।

रोयटर्सले उल्लेख गरेअनुसार सन् २०१२ मा शकिराले बार्सिलोनामा घर किनेकी थिइन्, जुन उनी र उनका तत्कालीन पार्टनर तथा बार्सिलोनाका फुटबल स्टार जेरार्ड पिकेको पारिवारिक घर बन्यो । तर शकिरा र पिकेले सम्बन्ध विच्छेद गरिसकेका छन् । यद्यपि, यो मुद्दामा पिके पनि तानिने अनुमान गरिएको छ ।

शकिरामाथि कर छलीको आरोप पहिलोपटक सन् २०१८ मा लागेको थियो । त्यतिबेला स्पेनका वकिलहरूले गायिकाले २०२१ देखि २०१४ सम्मको आम्दानीका करिब १५ करोड ५० लाख डलर अर्थात १२० करोड रुपैयाँ जम्मा नगरेको आरोप लगाएका थिए ।

यस मामिलामा शकिरा पनि २०१९ को जुनमा अदालतमा हाजिर भइन् । उनले कर कार्यालयबाट जानकारी पाएलगत्तै रकम जम्मा गरेको पनि बताएकी थिइन् ।

प्रतिक्रिया