के तपाईंलाई खिर मनपर्छ ? यस्ता छन् खिर खानुको फाइदा
अखबार टुडे
प्रकाशित:
२०७९, १५ श्रावण

काठमाडौं, १५ साउन । आज साउन १५ गते विभन्न कार्यक्रम गरी खिर दिवस मनाउने प्रचलन छ । आजको यो दिनलाई दूधबाट बनाएको खिर खाएर पर्वको रुपमा मनाइने गरिन्छ ।

यो दिन वर्षातले थकित शरीरलाई ऊर्जा दिन खिर खाने नेपाली परम्परा छ । यसको सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो रहेको छ । नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खिर खाने परम्परा विकास भएको भन्ने मान्यता पनि रहेको छ ।

साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरूबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो र तातो खिर खाने गरिन्छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खिर खाने गर्दछन् । विभिन्न किसिमका अन्नहरु मिसाएर बनाइएको खिरमा दुध, चिनी, काजु, नलिवल, किसमिस,दालचिनी, लगायतका सामाग्रीहरु राखेर खिर बनाइन्छ ।

गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू खासगरी खिर खाने चलन छ ।

शुद्ध, स्वास्थ्यबर्द्धक तथा खान पनि सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुआतसमेत खिर खुवाउने प्रचलन छ । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ ।

खिर खानुको फाइदा यस्ता छन्:
१. साउन महिना पानी पर्ने महिना भएकाले यस्तो समयमा विभिन्न संक्रामक रोगहररूबाट छुट्कारा पाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खिर खानु आवश्यक छ ।
२. खिरमा दूध, चामल, चिनी, ड्राइ फ्रुट, घिउ मिसाएर पकाइने भएको हुँदा यसले हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वहरु प्रदान गर्दछ ।
३. चामलले कर्बोहाइट्रेट, घिउले फ्याट, दूधले क्याल्सियम, प्रोटिन तथा भिटामिन, ड्राइ फ्रुट्सहरुले विभिन्न खनिज तत्वहरु प्रदान गर्दछ ।
४. खिरको सेवनले हाम्रो दाँत, हड्डी तथा मांसपेशीलाई बलियो बनाएर विकासमा समेत सहयोग पुर्याउने गर्छ ।
५. खिर नरम हुने भएकाले यसलाई सजिलै पचाउन सकिन्छ, जसकारण बच्चादेखि बृद्धलाई समेत खिरको सेवन गराउन सकिन्छ ।
६. खिरको सेवनले हाम्रो शरीरमा तत्काल उर्जा प्रदान गरी शक्ति दिने काम गर्दछ ।

प्रतिक्रिया