एसपीपी सन्दर्भ क्लोज : एसपीपी अघि नबढाउने नेपालको निर्णय अमेरिकाद्वारा स्वीकार
न्युज डेस्क
प्रकाशित:
२०७९, १३ श्रावण

काठमाडौं, १३ साउन । अब नेपालमा अमेरिकाको स्टेट पार्टनरशिप प्रोगाम (एसपीपी) नआउने भएको छ ।
नेपालले स्टेट एसपीपी अघि नबढाउने भन्दै पठाएको पत्र प्राप्त भएको जनाउँदै अमेरिकाले नेपाल सरकारको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएको छ । यससँगै अब एसपीपीको सन्दर्भ क्लोज भएको हो ।

परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एसपीपी अघि नबढाउने गएको असार ६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयबारे अमेरिकालाई जानकारी गराइएको बताएका थिए । उनले परराष्ट्र मन्त्रालयले ९ साउनमा यसबारे लिखित जानकारी पठाएको पनि उल्लेख गरेका थिए ।

प्रतिनिधिसभामा परराष्ट्र मन्त्रीले उक्त धारणा राखेको केही घण्टापछि हाल नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

यसैबीच काठमाडौंस्थित अमेरिकी राजदूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट विल्करले नेपाल सरकारले पठाएको पत्र आफूहरूले प्राप्त गरेको बीबीसीलाई बताएका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘हो, हामीले स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)बारे नेपाल सरकारले पठाएको पत्र प्राप्त गरेका छौँ । हामी एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयलाई ग्रहण गर्दै पूर्ण रूपमा स्वीकार गर्छौँ ।’

परराष्ट्रमन्त्रीले संसद्मा एसपीपीबारे पत्राचार गरिएको जानकारी गराएको केही घण्टापछि अमेरिकी सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । तर, ती भेटमा एसपीपीबारे दुवै पक्षबाट कुरा नउठाइएको अमेरिकी राजदूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख विल्करले बताएको बीबीसी नेपालीले उल्लेख गरेको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणका लागि काठमाडौंमा छन् । उनी नेपालमा रहँदा शुक्रबार एसपीपीबारे गरिएको पत्राचारबारे परराष्ट्रमन्त्रीले संसद्मा जानकारी गराएका थिए

प्रतिक्रिया