काठमाडौं, १३ साउन । अनधिकृत व्यक्तिलाई करका दर हेरफेर गर्न दिएको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन संसदमा पेश गरेको छ ।
समिति संयोजक लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन संसदमा पेश गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटालाई हस्तान्तरण गरिएको थियो । अनधिकृत व्यक्तिले करका दर हेरफेरको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट २ असारमा राजीनामा दिएका थिए ।छानविन समितिले बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएको पुष्टि नभएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सिसिटिभी फुटेजको अध्ययनलगायत हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’ सो नदेखिएपछि करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक नरहेको प्रतिवेदनमा भनिएको छ ।