इराकमा मोहम्मद अल सुदानीविरुद्ध प्रदर्शन : संसद भवनभित्र प्रदर्शनकारीको नाचगान
अखबार टुडे
प्रकाशित:
२०७९, १२ श्रावण

काठमाडौं, १२ साउन । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरेका थिए । तर, ठूलो भीड रहेको सुरक्षाकर्मी रोक्न सकेनन् । सामाजिक सन्जालहरुमा सेयर भएका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरिरहेको देख्न सकिन्छ ।

केही समययता इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानी इरानसँग निकट रहेको भन्दै सदर समर्थकहरू विरोधमा उत्रिएका हुन् ।

अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको धर्मगुरु सदरको पार्टीले गत अक्टुबरको आम चुनावमा सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । आफ्नो प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न धर्मगुरु सदर तयार नभएपछि त्यहाँ नयाँ सरकार बन्न नसकेको हो ।

प्रदर्शनकारी संसद भवनमा प्रवेश गर्ने बेला सांसदहरु थिएनन् । त्यहाँ प्रदर्शनकारीहरुले क्षति पु¥याए–नपु¥याएको भने खुलेको छैन । समाचारहरुमा उल्लेख गरिएअनुसार प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीलाई संसद भवन छाड्न आग्रह गरेका छन् ।

प्रतिक्रिया