कंगोमा शान्ति सेनाको शिविरमा आक्रमण : तीन जनाको मृत्यु, नेपालीको अवस्था कस्तो छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, ११ श्रावण

काठमाडौं, ११ साउन । कंगोको एक शान्ति सेनाको शिविरमा आक्रमण भएको छ । सो आक्रमणमा परी तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले डीआर कंगोमा चर्किएको द्वन्द्वका कारण तीन शान्ति सैनिकले ज्यान गुमाएका र अन्य केही घाइते भएको पुष्टि गरेको छ । बीबीसीका अनुसार नेपाली सेनाले त्यहाँ परिचालित नेपाली सैनिकहरू सुरक्षित रहेको जनाएको छ ।

नेपाली सेनाका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘द्वन्द्व चर्किएको क्षेत्रमा नेपाली शान्ति सैनिकहरूको ठूलो टोली नरहेको र त्यहाँ खटिएका स्टाफ अधिकृतहरूलाई सुरक्षित स्थानमा लगिएको’ बताएका छन् ।

डीआर कङ्गोको पूर्वी सहर बुटेम्बोमा अवस्थित राष्ट्रसंघीय टोलीका दुई शिविरमा भएका झडपमा तीन शान्ति सैनिक र एक दर्जन प्रदर्शनकारी मारिएको विवरण आएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कङ्गोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराएका छन् ।

ज्यान गुमाएका शान्ति सैनिकमध्ये दुई जना भारतीय सीमा सुरक्षा बलका सदस्य रहेको उल्लेख गर्दै भारतका विदेशमन्त्री एस जयशङ्करले उनीहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपाली सेनाको अवस्था
संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिक हेर्ने निकायको वेबसाइटका अनुसार डीआर कङ्गोमा १,१६३ शान्ति सैनिक परिचालित छन् । तीमध्ये १,१२५ जना कन्टिन्जन्टका सैनिक, ११ प्रहरी र बाँकी स्टाफ अधिकारी तथा पर्यवेक्षक हुन् ।

बीबीसी नेपालीसँग नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले त्यहाँ तैनाथ सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको बताएका छन् । उनले भनेका छन्, ‘सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित छन् । नेपाली सेनाको जङ्गी अड्डाले निरन्तर रूपमा नजिकबाट अवस्थालाई नियालिरहेका छौँ र हामी त्यहाँका कमान्डरसँग निरन्तर सम्पर्कमा छौँ ।’

प्रतिक्रिया