बढ्दो व्यापार घाटाप्रति राष्ट्रपतिद्वारा चिन्ता : फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनमा जोड
अखबार टुडे
प्रकाशित:
२०७९, १० श्रावण

काठमाडौ., १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको बढ्दो व्यापार घाटालाई पूर्तिका लागि फजुल खर्च नियन्त्रण र मितव्ययिता अवलम्बनमा जोड दिएकी छन् ।

शितल निवासमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै राष्ट्रपतिले भण्डारीले देशमा बढ्दो व्यापार घाटाको सन्दर्भ उठाएकी हुन् । उनले सम्पादकहरूसँगको अन्तरक्रियामा विभिन्न ५ सवाल उठाइन् ।

राष्ट्रपति भण्डारीले अर्थव्यवस्थालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन नेपालको लागि तुलनात्मक लाभको क्षेत्रमा तत्काल नयाँ फड्को मार्ने गरी कामको सुरुवात गर्नुपर्नेमा धारणा व्यक्त गरिन् ।

साथै, उनले बौद्ध एवं सनातन सभ्यताहरूको विकास भएको मानिने हाम्रो भूखण्डसँग भएका सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न सबल शिक्षा प्रणालीको आवश्यकता रहेको बताइन् । मुलुकको सांस्कृतिक एवं सभ्यतागत पुनर्जागरणका लागि शिक्षा नै पहिलो र एकमात्र सर्त भएका उनको भनाइ छ ।

यस्तै, कोभिड–१९ महामारीले समग्र स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्तिको माग गरेको पनि बताउँदै राष्ट्रपति भण्डारीले स्वास्थ्य पूर्वाधार, विशेषज्ञ स्वास्थ्यकर्मीहरूको उपलब्धता, स्वास्थ्यमा जनताको पहुँच जस्ता विषयमा निकट अतितबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने खाँचो औल्याइन् ।

स्वच्छ पिउने पानी, सरसफाई तथा सहरदेखि गाउँसम्म फोहोरको वैज्ञानिक व्यवस्थापनले मात्र समाजलाई स्वस्थ वस्नयोग्य, सुन्दर र वातावरणमैत्री बनाउन सकिने उनको भनाइ छ ।

मुलुकको आर्थिक प्रणाली शिक्षा स्वास्थ्य विदेश नीति लगायतका आधारभूत सवालहरूमा राज्यले लिनुपर्ने दिशाका बारेमा संविधानले स्पष्ट मार्गदर्शन गरेको भन्दै उनले राष्ट्रका सामु उपस्थित अहम् विषयहरूमा संविधानलाई शिरमा राखेर सबै राजनीतिक दलहरूबीच सहमति कायम हुनुपर्ने धारणा राखिन् ।

यसका लागि आवश्यक पर्ने जनमत निर्माण गर्न सञ्चार जगतले सबै पक्षलाई निरन्तर सचेत गराउने आफ्रले अपेक्षा लिएको बताइन् । सो क्रममा सम्पादकहरूले विभिन्न विषयमा राष्ट्रपतिलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया