खरानी आयात हुन्छ भन्दा सभामुख अचम्मित : ‘योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’
अखबार टुडे
प्रकाशित:
२०७९, ९ श्रावण

काठमाडौं, ९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा खरानी आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएका छन् ।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ । भनेको सुन्दा आफैं अचम्मित भएको बताएका हुन ।

सभामुख सापकोटाले भने, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ । तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौं । त्यस्तै, खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु ।’

हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वनापूर्ण रहेको उनको भनाइ छ । २ खर्ब ५० करोड बढीको खाद्यवस्तुहरू आयात गरिने भन्दै उनले भने, यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’

सभामुख सापकोटाले युवाको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको पनि बताए । साइरनको भाषाको रुपमा आएको युवाहरूको आवाजलाई सुन्नुपर्ने उनले बताए ।

‘अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा’ उनले भने, ‘यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’

उनले विश्वभर अराजकता र अन्तरविरोध मडारिन थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले भने, ‘वास्तवमा देशभर एक प्रकारको अन्तरविरोध मडारिन थालेका छन् । एक प्रकारको अराजकता भएको जस्तो छ । दुनियाँमा अभिभावकको खाँचो भएको जस्तो छ । यी सबै परिवेशबाट अहिले नयाँ विश्व दृष्टिकोणको आवश्यकता छ ।’

प्रतिक्रिया