बेलायतबाट एल्बम निकाल्न आएकी अनिला बुटिकमा भेटिइन् (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ९ श्रावण

काठमाडौं, ९ साउन । गायिका अनिला राई आइतबार ललितपुरको इमाडोेलस्थित एक बुटिकमा भेटिइन् । लामो समयदेखि बेलायतमा बसेर पनि नेपाली गीतसंगीतमा निरन्तर लाग्दै आएकी अनिला इमाडोलको आरयु कलेक्शन हाउसमा भेटिएकी हुन् । पहिरन छनोट गर्न व्यस्त रहेकी अनिलाले भनिन्, ‘फोटोसुट र भिडियोका लागि पहिरन हेर्न यहाँ आएकी हुँ ।’

उनी केही दिन अघिमात्र नेपाल आइपुगेकी हुन् । व्यस्त शेड्युल लिएर नेपाल आएकी अनिलाले भनिन्, ‘नेपाल आएको भोलिपल्टदेखि नै भ्याइनभ्याई छु ।’ आफ्नो शब्दरचना एल्बम निकाल्न बिदा लिएर नेपाल आएकी उनले शनिबार नै एउटा गीत रेकर्ड गर्न समेत भ्याइसकेकी छन् ।

शनिबार आफ्नै शब्दमा उनले ‘धाराको पानी’ बोलको गीत रेकर्ड गराएकी छन् । जसमा स्वरमा रोशन राईले साथ दिएका छन् भने संगीत पनि रोशनै रहेको छ ।

उनी संगीतकार शान्तिराम राईको संगीतमा पनि काम गर्दैछिन् । त्यसका लागि अहिले रियाज गरिरहेको उनले सुनाइन् । ‘शान्तिराम राईको संगीतमा पूर्वेली लोकशैलीको गीत गाउँदैछु’ इमाडोलमा भेटिएकी अनिलाले अखबार–टुडेसँग भनिन्, ‘अहिले त्यसैका प्राक्टिस गर्न यहाँ आएकी हुँ । बुटिक बाटोमै परेकाले यहाँ निस्केकी हुँ ।’

गायिका अनिलाले यसपटक एल्बम नै तयार गर्दैछिन् । जसबाट केही म्युजिक भिडियो निर्माण गर्ने उनले बताइन् । साथै, उनले गीति पुस्तक समेत ल्याउँदैछिन् । त्यसैले पनि उनी नेपाल आउनेवित्तिकै व्यस्त भएकी हुन् । एल्बमको चलन हराइसकेको भएपनि आफ्नो सिर्जनाहरु संकलन गर्न एल्बमको तयारी गरेको उनको भनाइ छ ।

‘व्यस्त भएर साथीभाइ समेत भेट्न पाएकी छैन’ आइतबार भेटमा उनले भनिन्, ‘मंगलबार एल्बमका लागि फोटोसुट गर्दैछु । अहिले त्यसैका लागि पहिरन हेर्न यहाँ आएकी हुँ ।’ अनिलाका लागि फेसन डिजाइनर उषा राईले पहिरन तयार गरेकी छन् ।

प्रतिक्रिया