युकेको ‘राजेशपायल एकल सांगीतिक साँझ’ स्थगित, राजेशपायलले दर्शकसँग मागे माफी
अखबार टुडे
प्रकाशित:
२०७९, ८ श्रावण

काठमाडौं, ८ साउन । मेगास्टार राजेशपायल राईको युकेमा आज (आइतबार) हुने भनिएको एकल सांगीतिक साँझ स्थगित भएको छ ।

विविध कारणले सम्पूर्ण तयारी पूरा भएर पनि कार्यक्रम स्थगित अर्थात सार्नुपरेको आयोजक संस्था किरात यायोख्खा, युकेले जनाएको छ ।

आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘किरात यायोख्खाले यही आउँदो २४ जुलाई २०२२ (८ साउन २०७९)मा आयोजना गर्ने भनि निश्चित भएको ‘राजेशपायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम स्थगित गरिएको छ ।’ कार्यक्रम सारिएको भनिएपनि अर्को मिति भने आयोजकले तोकेको छैन ।

पछिल्लो समय युकेको राजनीतिक अवस्था र रसिया र युक्रेनबीच जारी युद्धका कारण राजेशपायलको भिषामा अनिश्चित क्यूमा फस्न पुगेपछि निश्चित भइसकेको कार्यक्रम स्थगित गर्नु परेको भन्दै आयोजकले कार्यक्रमका प्रायोजक, दर्शक तथा सम्पूर्ण श्रोतासँग माफी मागेको छ ।

‘राजेशपायल राई एकल सांगीतिक साँझ तथा सम्मान’ कार्यक्रम स्थगित हुँदा समस्त प्रायोजकहरु, दर्शक तथा श्रोताहरुमा पर्न गएको असुविधाप्रति हामी आयोजक क्षमा प्रार्थी छौँ, तपाइँहरुको धैर्यताका लागि धन्यवाद’ विज्ञप्तिमा भनिएको छ । साथै, टिकट लिइसकेका दर्शक तथा श्रोताले पुनः निर्धारित कार्यक्रमको टिकट लिनु नपर्ने आयोजकले जनाएकोछ ।

यसैबीच, यता मेगास्टार राजेशपायलले पनि आफ्नो कार्य क्रम स्थगित भएको जानकारी गराएका छन् । शनिबार काठमाडौंको रातोपुलस्थित रक हाउस क्याफेमा पत्रकार सम्मेलन गरी आज युकेमा हुने निश्चित भएको आफ्नो एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम स्थगित भएको जानकारी गराउँदै दर्शक, आफ्ना शुभचिन्तकप्रति क्षमा मागेका हुन् ।

‘युकेमा २४ जसलाई (आज) हुने भनिएको कार्यक्रम स्थगित भएको जानकारी गराइरहँदा दुखित छु’ पत्रकार सम्मेलनमा राजेशपायलले भने, ‘यहाँहरुसँग पुनः अर्को मिति तोकेर कार्यक्रम हुनेछ । तर, अहिले विविध कारणले कार्यक्रम स्थगित हुँदा तपाइँहरु मेरा दर्शक एवं शुभचिन्तकप्रति पर्न गएको असुविधाप्रति आयोजक र मेरो व्यक्तिगत तर्फबाट माफी चाहन्छु ।’

प्रतिक्रिया