निष्पक्ष पत्रकारिताले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७९, ६ श्रावण

हेटौंडा, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरेका छन् ।

शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउनेक्रम बढेको भन्दै निष्पक्ष पत्रकारितामा जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘राजनीतिक स्थायित्वको विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ ।’

उनले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने बताउँदै भने, ‘लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ ।’ कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । उनले भने, ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु ।’

कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडामा भेला भएका छन् । यो महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया