सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय, लक्ष्य बहुमत ल्याउने
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

पार्टीले आगामी निर्वाचनबाट प्रष्ट बहुमत ल्याउने लक्ष्य लिएको छ । कांग्रेसको निर्णयमा भनिएको छ, ‘कांग्रेसलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद गरी चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गर्दछ ।’

तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ ।

‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ,’ कांग्रेसको निर्णयमा भनिएको छ । कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावबाट पार्टीलाई सन्तोषजनक उपलब्धि हासिल भएको बताएको छ ।

प्रतिक्रिया