हलिउड अभिनेत्री जेनिफरले गरिन् चौथो पटक विवाह
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन (एजेन्सी) । हलिउड अभिनेत्री जेनिफर लोपेजले चौथो पटक विवाह गरेकी छन् । उनले लस भेगासमा पूर्व प्रेमी बेन एफलेकसँग विवाह गरेकी हुन् ।

अभिनेत्री लोपेजले आइतबार वेबसाइटमार्फत आफूहरुको विवाह भएको पुष्टि गरेकी छन् । ‘हामीले विवाह गर्यौं। प्रेम सुन्दर छ, प्रेम दयालु छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो, बीस वर्षको धैर्य,’ उनले लेखेकी छन् । उनीहरुले गत शनिबार लसभेगास पुगेर विवाहको अनुमति पत्र समेत लिएका थिए ।

१७ वर्षअघि इन्गेजमेन्ट गरेर छुटेको यो जोडीले फेरी भर्खरै विवाह गरेका हुन् । सन् २००२ मा फिल्म ‘गिग्ली’ को सेटमा यो जोडीको भेट भएको थियो । भेटपछि उनीहरू प्रेम सम्बन्धमा परेका थिए । त्यसपछि सन् २००३ मा इन्गेजमेन्ट गरे लगत्तै सञ्चार माध्यमले आफूहरूलाई बढी ध्यान दिएको कारण देखाउँदै उनीहरू अलग्गिने निर्णय समेत गरेका थिए ।

तर सोही अवधिमा लोपेज धेरै पटक इन्गेज्ड भइन् । लोपेजको एफलेकसँग विवाह गरेको यो चौथो पटक हो । यसअघि उनले आजानी नोआ, क्रिस जड, र गायक मार्क एन्थोनीसँग विवाह गरेकी थिइन् । जेनिफर र मार्क एन्थोनीको दुई सन्तान छन् ।

५२ वर्षीया जेनिफर र ४९ वर्षीय एफलेक सन् २००० को दशकका विश्व चर्चित कलाकार हुन् । उनीहरुले दुईवटा फिल्ममा सँगै काम गरेका छन् । सन् २००३ मा रिलिज भएको फिल्म ‘गिग्ली’मा उनीहरुले पहिलोपटक सँगै काम गरेका थिए, तर त्यो फिल्मले सफलता पाउन सकेन ।

प्रतिक्रिया