युरोपमा गर्मीको लहर: कम्तीमा ३ सय जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १ श्रावण

काठमाडौं, १ साउन । युरोपमा केही दिनयता गर्मी बढेको छ । उच्च तापक्रमका कारण विभिन्न स्थानमा डढेलोसमेत फैलिएको छ ।

गर्मी र डढेलोबाट स्पेन, पोर्चुगल, फ्रान्स, बेलायत र इटाली सबैभन्दा बढी प्रभावित भएका छन् । हालसम्म आगलागी र गर्मीले कम्तीमा ३ सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । डढेलोका कारण दक्षिण–पश्चिम फ्रान्समा मात्र हजारौं नागरिक विस्थापित भएको बताइएको छ ।

पोर्चुगलको उत्तरी क्षेत्रमा फैलिएको डढेलो निभाउने क्रममा ‘वाटर–बम्बर’ विमान दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बीबीसीका अनुसार दुर्घटनामा कम्तीमा १ सय ३५ जना घाइते भएका छन् ।

डढेलो अनियन्त्रित बन्दै गएपछि हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलोपछि पोर्चुगलमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । पोर्चुगलमा मंगलबारयताको तापक्रम कम्तीमा ४७ डिग्री सेल्सियस रहेको छ । देशभर २८ स्थानमा सक्रिय रहेको डढेलो निभाउन २ हजारभन्दा बढी अग्नि नियन्त्रक खटाइएको छ ।

स्पेन र फ्रान्सका कतिपय स्थानको तापक्रम ४५ डिग्री पुगेका कारण ग्रामीण क्षेत्रहरूमा फैलिएको डढेलो अनियन्त्रित बन्दै गएको छ । फ्रान्स, ग्रीस, स्पेन र बेलायत डढेलो नियन्त्रणका लागि संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया