आजदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए पाँच सय जरिवाना
अखबार टुडे
प्रकाशित:
२०७९, १ श्रावण

काठमाडौं, १ साउन । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति जारी गरेर कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको हो ।

आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग–अलग भाँडोमा राख्नुपर्ने छ । त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप रु ५०० जरिवानासमेत तिर्नुपर्ने हुन्छ ।

काठमाडौँ महानगरपालिकाका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गर्नेछ । आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

उनले कुहिने फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रिय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्नसमेत महानगरले आग्रह गरेको बताए । त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले सबैसँग आग्रह गरेको छ ।

काठमाडौं महानगरले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।

प्रतिक्रिया