प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ असार

काठमाडौं, ३१ असार । प्रतिनिधि सभाको उपसभामुखमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी बिद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् ।

भुसालले १ सय ४८ मत पाएर विजयी भइन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले ९३ मत पाइन् । प्रतिनिधि सभामा उपस्थित २४२ सांसदमध्ये १ जना सांसदले मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।

उपसभामुख निर्वाचित हुनु अघिसम्म भुसाल कांग्रेसको तर्फबाट सचेतक थिइन् । उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

प्रतिक्रिया