गभर्नरले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ: प्रधानमन्त्री देउवा
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ असार

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

बालुवाटारमा शुक्रबार भएको पाँच दलीय गठनबन्धनको बैठकमा देउवाले राजनीतिक संलग्नता देखिएको भन्दै गभर्नरले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

बैठकमा सहभागी नेताहरूले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले भने, ‘गभर्नरको राजनीतिक संलग्नता देखिएको कारण अन्यले राजीनामा माग्ने नभइ अधिकारीले स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’ उनले राजीनामा दिनु बाहेक अन्य विकल्प नभएको बताएका छन् ।

बैठकमा सहभागीका एक नेताका अनुसार प्रधानमन् त्रीले के भएको हो भनेर चासो मात्रै देखाएका हुन् । अहिल्यै त्यसबारे के गर्ने ? कसो गर्ने ? भनेर कुनै निर्णय नभएको उनले बताए ।

असार २६ मा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ’एम अधिकारी’को नाम रहेको छ । उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार सार्वजनिक भइरहँदा राजीनामा माग हुँदै आएको हो ।

अधिकारी र एमालेले भने एम अधिकारी भनेको महाप्रसाद नभएको जनाएका छन् । तर एमालले खोटाङ घर भएका ‘एम. अधिकारी’ यिनै हुन् भनेर सशरीर उपस्थित गराउन सकेको छैन ।

प्रतिक्रिया