जसपा फुटाउने बाबुरामजीको सपना चकनाचूर भयो: उपेन्द्र यादव
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ असार

वीरगञ्ज, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने डा. बाबुराम भट्टराईको सपना चकनाचूर भएको बताएका छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार वीरगञ्चमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले भने, ‘पार्टी फुटाउने षडयन्त्र थियो, संख्या नभएर आफैं परास्त हुनुभयो । आफ्नो गुटको बैठक बोलाउनुभयो, यो गलत थियो । पार्टी विधानविपरीत कार्य गरेर अर्को जसपा दर्ता गराउने सपना चकनाचूर भएको छ । प्रयास असफल भएको छ ।’

यादवले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको बताए ।

जसपाको बिहीबार बसेको बैठकले विधानविपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्राई, महिन्द्र राय यादव, गंगा नारायण श्रेष्ठ, हिसिला यमीलगायत ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको थियो ।

भट्टराई सच्चिएर आए पार्टीमा राख्ने पनि उनले बताएका थिए । उनले भने, ‘सच्चिएर आउनुभयो भने बेग्लै कुरा तर अब उहाँ अर्को पार्टी खोल्नेतिर लाग्नुभएको छ । एकै मानिसलाई धेरै पार्टीमा सदस्य बनाउने कुरा त भएन !’

उनले पार्टी नेता रेणु यादवले पार्टी नछाडेको बताए । ‘उहाँको क्षणिक आक्रोश हो,’ उनले भने । रेणुले बिहीबार आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएकी थिइन् । अध्यक्ष यादवले पार्टीमा समस्या अध्यक्षका कारणले नआएको पनि दाबी गरे ।

जसपाको संघीय परिषद्का अध्यक्षमा चयन भएका अशोक राईले पार्टी विभाजन गर्नेहरुलाई एउटा किनारामा छाडेर मूल प्रवाह जसपाको घोषित लक्ष्यमा कतै पनि क्षति नपुग्ने गरी अगाडि बढ्ने जनाए ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई बिहीबार केन्द्रीय समितिको बैठकले पदमुक्त गरी पार्टीका वरिष्ठ नेता अशोक राई परिषद् अध्यक्षमा सर्वसम्मतिले चयन गरेको थियो ।

भट्टराई पक्षले भने नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ । मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठकले जसपालाई पुनर्गठन गरी नयाँ पार्टी बनाउने निर्णय गरेको हो । बैठकले नयाँ पार्टीको नाम र संरचनाबारे निर्णय गर्ने अधिकार जसपाबाट अलग भएका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई दिएको छ ।

प्रतिक्रिया