एमालेको प्रश्न- वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार

काठमाडौं, ३० असार । प्रतिनिधिसभामा प्रस्तुत नागरिकतासम्बन्धी नयाँ विधेयकमाथि छलफल सुरु भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा छलफलको क्रममा प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भन्दै प्रश्न गरेको छ ।

नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा बिहीबार बोल्दै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजे । उनको प्रश्न थियो– ‘वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?’ विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ ? भनी उनले अर्को प्रश्न गरेका थिए ।

‘कहाँ छ विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने ? भारतमा ७ बर्ष छ, जहाँ पनि कम्तिमा ४/५ बर्ष छ’ उनको प्रश्न छ । सांसद पोखरेलले विवाह गरेर आउनेवित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुन नहुने बताए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले नागरिकता विधेयकलाई संसदीय समितिमा दफावार छलफलमा नपठाउा प्रस्ताव गरेका छन् ।

छलफलमा भाग लिँदै उनले विगतमा साढे दुई वर्षसम्म राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक अल्झिएको स्मरण गर्दै भने, ‘यसलाई फेरि समितिमा लैजाने होइन । मान्छेलाई रुवाउने ? फेरि ३ बर्ष अल्झाउने ? यसमा फेरि छलफल गर्ने रोक्ने यो मानवता विारेधी हुन्छ । यसकारण यसलाई यहीँ प्रतिनिधिसभाबार्ट सिधै पास गरौं ।’

प्रतिक्रिया