उपसभामुखका लागि पुष्पा भुसाल र विद्या भट्टराई भिड्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार

काठमाडौं, ३० असार । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका लागि दुई जनाले उम्मेदवारले मनोनय दर्ता गराएका छन् ।भोलि शुक्रबार हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएको हो ।

संघीय संसद सचिवालयका अनुसार सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराईले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन् ।

भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित एमाले सांसद हुन् । उनले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी हुन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

संसदमा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार पुष्पा भुसाल उपसभामुख हुने लगभग पक्का छ ।

प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

प्रतिक्रिया