एसपीपी सम्झौता अस्वीकार गरेको पत्र तत्काल पठाऔं: नारायणकाजी
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार

काठमाडौं, ३० असार । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले स्टेट पार्टनर सीप प्रोग्राम (एसपीपी) सम्झौता अस्विकार गरेको पत्र अमेरीकी सरकारलाई तत्काल पठाउन ध्यानाकर्षण गराएका छन् ।

‘एसपीपी एग्रीमेण्टबारे राष्ट्र व्यापी बोल्यौं । नेपाललाई सैन्यमोर्चातर्फ धकेलिने कार्य गर्नु हुँदैन भन्यौं । परिणामस्वरुप त्यसलाई अघि नबढाउने निर्णय सरकारले ग¥यो । सरकारले अहिलेसम्म पत्र लेखेन, राष्ट्रिय सभामा बोल्दै श्रेष्ठले भने, ‘सरकारको तर्फबाट हामी एसपीपीलाई अघि नबढाउने र यस प्रकारका सम्झौता नगर्ने निर्णय गरेका छौं भनेर अमेरिकी सरकारलाई पत्र पठाउनुप¥यो ।’

कुनैपनि सैनिक गठबन्धन वा शक्ति राष्ट्रहरुसँग अन्तर्निहीत हुने कुनै पनि कदम चाल्न सरकार तयार हुन नहुने उनले बताए ।

यस्तौ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजिनामा दिनुपर्ने उनले बताए । नेता श्रेष्ठले २०७३ सालको महाप्रसाद अधिकारी अहिले आएर एम. अधिकारीमा रुपान्तरण भएको बताए ।

‘नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य जो ७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही महाप्रसाद अधिकारीको नाममा भएको व्यक्ति अहिले एम. अधिकारीमा रुपान्तरण भएर अर्थ तथा योजनाविद भनेर राखिएको छ’, नेता श्रेष्ठले भने, ‘अहिले प्रश्न मात्रै होइन सबैको बुझाई छ कि उहाँ नै त होला । त्यही जिल्लाको एम अधिकारी को होला त अरु ?’

यसलाई एमाले वा गभर्नर अधिकारीले प्रस्ट पार्न नसकेको र सक्ने अवस्था पनि नरहेको बताए । श्रेष्ठले भने, ‘यस्तो अवस्थामा उहाँ बसिरहन मिल्छ कि मिल्दैन ? कि त होइन भन्ने पुष्टि गर्ने आधिकारिक कागजात चाहियो नत्र राजीनामा गर्नु र पद छोड्नुपर्छ ।’ उनले यसबारे सरकार र पार्टीको गम्भीर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया