एमालेको प्रस्टीकरण : ‘एम. अधिकारी’ गभर्नर होइनन्
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार

काठमाडौं, ३० असार । नेकपा एमालेले आफ्नो पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम. अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ ।

एम. अधिकारीको विषयमा प्रश्न उठेपछि गभर्नर अधिकारीले आफू कुनै पनि पार्टीमा नरहेको र त्यस्तो पदमा बस्ने कल्पना पनि नगरेको उल्लेख गर्दै आफूलाई जोडेर भ्रम सिर्जना गरिएकोले यसबारे स्पष्ट पारिदिनुहुन भन्दै गभर्नर अधिकारीले बुधबार एमालेलाई पत्र पठाएका थिए ।

त्यही पत्रको जवाफ दिँंदै एमाले कार्यालय सचिव भीष्म अधिकारीले बुधबार गभर्नर अधिकारीलाई स्पष्ट पारिएको पत्र पठाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् ।

एमालेले गभर्नर अधिकारीलाई एमालेले पठाएको पत्रमा भनिएको छ, ‘यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम. अधिकारी खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सञ्जाल, सञ्चार माध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनि भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनि उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछुु ।’

गभर्नर अधिकारीले बुधबार एमालेलाई पठाएको पत्रमा बाहिर आएका समाचारबारे स्पष्ट पारिदिन आग्रह गरिएका थिए । तर, एमालले खोटाङ घर भएका ‘एम. अधिकारी’ यिनै हुन् भनेर सशरीर उपस्थित गराउन सकेको छैन ।

घनश्याम भुसाल प्रमुख र योगेन्द्रबहादुर शाही सचिव रहेको नेकपा एमालेको अर्थ तथा योजना विभागको ९ सदस्यमध्ये एक खोटाङ जिल्ला स्थायी ठेगाना भएका एम.अधिकारी उल्लेख छ ।

यता गभर्नर महाप्रसाद अधिकारीमाथि नैतिक सङ्कट चुलिँदै गएको छ । एमालेको विभागमा समावेश गरिएका ‘एम अधिकारी’ गभर्नर अधिकारी नै भएको आरोप छ । यद्यपि, गभर्नर अधिकारीले उक्त ‘एम.अधिकारी, खोटाङ’ आफू नभएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया