देश छाडेर रातारात भागेका श्रीलंकाका राष्ट्रपति राजपाक्षेले किन रोजे माल्दिभ्स ?
अखबार टुडे
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार । चरम आर्थिक संकटपछि जनताको विरोध थेग्न नसकेपछि श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षे रातारात भागेर माल्दिभ्स पुगेका छन् । विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार उनी स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेका छन् ।

राजपाक्षे श्रीमती र दुईजना अंगरक्षकलाई आफूसँगै लिएर एउटा सैन्य जहाजमा उक्त देश गएको स्रोतलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपाक्षे नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट बच्न माल्दिभ्स भागेको अनुमान गरिएको छ ।

उनी माल्दिभ्समै नबसेर तेस्रो देश जान लागेको ठानिएको छ । तर, उनी ठ्याक्कै कहाँ जाँदैछन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

बीबीसीको समाचारअनुसार देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन् । गत शनिवार प्रदर्शनकारीले उनको कार्यालय र घर कब्जा गरेपछि राजपाक्षे लुकेर बसेका थिए । उनले बुधबारै राजीनामा दिने प्रतिबद्धता जनाएका थिए । यद्यपि हालसम्म उनको राजीनामा आइसकेको छैन ।

किन रोजे माल्दिभ्स ?
श्रीलंकाले हिन्द महासागरमा रहेको आफ्नो छिमेकी सानो टापुराष्ट्र माल्दिभ्ससँग सधैँ घनिष्ठ सम्बन्ध राखेको छन् । उक्त देश श्रीलङ्काबाट ९० मिनेटको उडानमा पुगिन्छ । यी दुवै राष्ट्रले ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएदेखि नै सकारात्मक कूटनीतिक र आर्थिक सम्बन्ध कायम राख्दै आएको समाचारमा जनाइएको छ ।

माल्दिभ्सको सेनालाई श्रीलंकाको सेनाले तालिम दिएको छ । विशेषगरी राजपाक्षे परिवारको माल्दिभ्सका नेताहरूसँग बलियो सम्बन्ध रहेको जनाइएको छ ।

उक्त टापु राष्ट्रका पूर्वराष्ट्रपति र वर्तमान संसद्का सभामुख मोहम्मद नसीदसँग राजपाक्षे परिवारको मैत्रीपूर्ण सम्बन्ध रहेको बीबीसीले जानएको छ ।

केही स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति राजपाक्षेलाई स्वागत गर्न नसीद रातभर माले विमानस्थलको धावनपार्ग छेउमै पर्खिरहेका थिए । राजपाक्षेहरूको माल्दिभ्समा पारिवारिक घर र त्यहाँ अन्य सम्पत्ति रहेको पनि विवरणहरू आएका छन् ।

प्रधानमन्त्रीको भनाइ
यसैबीच श्रीलङ्कामा कार्यवाहक राष्ट्रपतिको पद सम्हालेका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले शान्ति सुव्यवस्था कायम गर्न जे आवश्यक हुन्छ त्यही गर्न सेना र प्रहरीलाई आफूले आदेश दिएको बताएका छन् ।

हजारौँ प्रदर्शनकारी बलपूर्वक प्रधानमन्त्री कार्यालयको गेटभित्र छिरेपछि उनले यस्तो आदेश दिएको बताइएको छ ।
प्रधानमन्त्री रनिल विक्रमसिङ्घले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न आह्वान गरेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया