श्रीलंका संकट: प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीले कब्जा गरे
अखबार टुडे
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार (एजेन्सी) । श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् ।

प्रदर्शनकारीललाई रोक्न बाक्लो संख्यामा तैनाथ सुरक्षाकर्मीले प्रधानमन्त्री कार्यालय जोगाउन सकेनन् । बार भत्काएर प्रदर्शनकारी प्रधानमन्त्री कार्यालय भित्र पसेको अन्तराष्ट्रिय सञ्चार माध्ययममा खबर आएका छन् ।

बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए । दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए । झडपमा दुबैतिरका केही मानिस घाइते भएका थिए ।

राष्ट्रपति गोटवाया राजापाक्षे भागेर माल्दिभ्स पुगेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यवाहक राष्ट्रपति छन् । सैनिक जहाजमा छिमेकी माल्दिभ्स पुगेका राजापाक्षे उतैबाट प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका हुन् ।

श्रीलंकाको तल्लो सदनका सभामुख महिन्दा यापा आबेवार्दनाले बुधबार राजापाक्षेले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिए । विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बन्नुअघि नै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा ठूल्ठूला प्रदर्शन भइरहेका छन् ।

राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो । आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ ।

प्रतिक्रिया