संसदमा अघि बढ्यो नागरिकता विधेयक
अखबार टुडे
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार । प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक पेश भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको असहमतिका बाबजुद सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश भएको हो ।

बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

विरोधको सूचना दर्ता गर्नुको कारण खुलाउँदै सांसद रावलले राज्य व्यवस्था समितिले तीन बर्ष छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ ल्याएर राज्य व्यवस्था समितिकै अवहेलना भएको बताएका थिए ।

यस्तै, सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत भएको भन्दै असमान व्यवहारसहितको विधेयक आएको भन्दै असहमति जनाएका थिए ।

नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

सभामुखले तीनै जना सांसदलाई विरोधको सूचना फिर्ता लिन आग्रह गरेका थिए । तर उनीहरुले विरोधको सुचना फिर्ता नलिएपछि उक्त सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।

विरोधका सूचना बहुमतले अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको छ ।

प्रतिक्रिया