श्रीलंकामा संकटकाल घोषणा, आजै राजीनामा नगरे संसद र सरकारी भवन कब्जाको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार (एजेन्सी) । श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार संकटकाल घोषणा गरेको सूचना निकालेको हो ।

प्रधानमन्त्री विक्रमासिंघेले हिंसात्मक तरिकाले प्रदर्शन गर्नेहरूलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् । वेस्टर्न पोभिन्समा कर्फ्यूको पनि घोषणा गरिएको छ ।

मंगलबार राति राष्ट्रपति गोटबाया राजापाक्षे सैनिक जहाजमा माल्दिभ्स भागेपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो ।

राष्ट्रपति राजापाक्षेले देश छोडेपनि श्रीलंकाको अवस्था तनावपूर्ण नै रहेको छ । हजारौं प्रदर्शनकारीहरू अहिले कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयतिर अघि बढिरहेका छन् । यो क्षेत्र मुख्य प्रदर्शन केन्द्र गाले फेस ग्रीनबाट लगभग २० मिनेट टाढा छ ।

राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए । तर, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सर्वदलीय सरकार बनेपछि राजीनामा दिने बताएका छन् ।

प्रदर्शनकारी भने रनिल विक्रमासिङ्घेबाट तत्काल राजीनामा चाहन्छन् । किनभने राजापाक्षेले देश छोडेपछि श्रीलंकाको संविधानअनुसार रानिल विक्रमासिङ्घे स्वतः ३० दिनका लागि कार्यवाहक राष्ट्रपति बन्नेछन् ।

एक प्रदर्शनकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘यदि राष्ट्रपति र प्रधानमन्त्रीले आज साँझसम्म राजीनामा नगरे हामी फेरि भेला हुनेछौं र संसद र अन्य सरकारी भवनहरू कब्जा गर्नेछौं ।’

देशमा आर्थिक संकट आएपछि त्यहाँका जनताले राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेको राजीनामा मागेर राजधानी कोलोम्बोमा प्रदर्शन गरिरहेका छन् । आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रपति भवन समेत कब्जा गरेका छन् । उनीहरूले प्रधानमन्त्री कार्यालयमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।

प्रतिक्रिया