काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथी छानविन गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारी रहेको भन्दै छानविन गरी कारवाही गर्न माग गरेकी हुन् ।
‘राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ’, शर्माले भनिन्, ‘ति एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने विषयले पनि ठूलै चर्चा पाएको छ ।’
उनले राष्ट्र बैंकको प्रमुख नै कुनै दलमा आवद्ध भएपछि दलीय अनुशासन मान्छ कि सरकारको नियम मान्छ भन्दै प्रश्न गरिन् । ‘प्रचलित कानुन विपरित कुनैपनि दलको विभागीय सदस्यमा रहँदा यो देशको नियम पालना गर्नुहुन्छ कि प्रतिपक्षको पालना गर्नुहुन्छ ?’शर्माको प्रश्न छ ।
शर्माले प्रचलित कानुन र राष्ट्र बैकको ऐन विपरित भएकाले छानविन गरि कारवाही गरियोस् भनेर संसदमार्फत सरकारसँग माग गरिन् ।