श्रीलंकाका राष्ट्रपति सैनिक विमान चढेर भागे : राजपाक्षे परिवारको राजनीतिक वर्चस्व अन्त्य
अखबार टुडे
प्रकाशित:
२०७९, २९ असार

काठमाडौं, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षे देश छोडेर भागेक छन् । चरम आर्थिक संकटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका राष्ट्रपति राजपाक्षे सेनाको विमानबाट अन्यत्र गएको समाचारमा जनाइएको छ ।

७३ वर्षीय राजपक्ष बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनले देश छाडेसँगै श्रीलंकामा दशकौँसम्म शासन गर्ने राजपाक्षे परिवारको राजनीतिक वर्चस्व अन्त्य भएको छ ।

शनिबार हजारौँ प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेदेखि उनी लुकिरहेका थिए । यसअघि राष्ट्रपतिले जुलाई १३ (आज) राजीनामा दिने बताएका थिए ।

उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजपाक्षेले पनि देश छाडेको स्रोतको हवाला दिँदै बीबीसीले जनाएको छ । उनी अमेरिका प्रस्थान गर्न लागेको बताइएको छ ।

राष्ट्रपतिको प्रस्थानको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन् । मंगलबार साँझ त्यहाँ राष्ट्रपतिको राजीनामाको पर्खाइमा हजारौँ मानिस भेला भएका थिए ।

श्रीलंकामा अभूतपूर्व आर्थिक संकट आउनुमा राजपाक्षेको प्रशासनलाई दोष दिइएको छ । महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन् ।

पदमा रहँदा अभियोगबाट उन्मुक्ति पाएका यी नेता पदमुक्त भएपछि नयाँ प्रशासनको गिरफ्तारीबाट बच्न विदेश भागेको ठानिएको छ । ण्देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न क्रियाशील सरकार चाहिन्छ । यद्यपि राष्ट्रपतिले देश छोडेपछि शक्ति असन्तुलित हुने सम्भावना देखिएको छ ।

अन्य दलका नेताहरूले नयाँ सरकार बनाउनेबारे छलफल गरेको भएपनि सहमति नजिक पुग्ने कुनै संकेत देखिएको छैन । उनीहरूको निर्णय सर्वसाधारण जनताले स्वीकार गर्छन् या गर्दैनन् भन्नेसमेत स्पष्ट छैन ।

प्रतिक्रिया