बेलायत प्रधानमन्त्रीको दौडमा ११ उम्मेदवार, सुनक र जाविद चर्चामा
अखबार टुडे
प्रकाशित:
२०७९, २८ असार

काठमाडौं, २८ असार । बेलायतमा नयाँ प्रधानमन्त्रीको टुंगो सेप्टेम्बर ५ मा हुनेछ । यसै दिन कन्जरभेटिभ पार्टीको दलको नेता चुनिने र सोही नेता प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ ।

यौन उत्पीडनको आरोप लागेका व्यक्तिलाई राजनीतिक नियुक्ति दिएपछि उनको नेतृत्वमा प्रश्न उठाउँदै सरकारका केही वरिष्ठ मन्त्रीले राजीनामा दिएका थिए ।

साथै पार्टीका दर्जनौं सांसदले जोनसनलाई समर्थन गर्न अस्वीकार गरेपछि उनले गत हप्ता राजीनामा दिएका थिए । तर बोरिसले नयाँ नेता नआएसम्म आफू प्रधानमन्त्रीको पदमा रहने बताएका थिए ।

हालसम्म ११ जना उम्मेदवार प्रधानमन्त्रीको दौडमा छन् । जसमा अर्थमन्त्री पदबाट राजीनामा दिने भारतीय मूलका ऋषि सुनक र स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिने पाकिस्तानी मूलका साजिद जाविदको नाम चर्चामा छ ।

दलको नेतामा दाबी गर्ने म्याद आज मंगलबारसम्म छ । प्रत्येक उम्मेदवारलाई नेता पदको दाबेदारीमा समावेश हुन कम्तीमा २० जना सांसदको समर्थन चाहिन्छ ।

त्यसपछि बुधबारदेखि पार्टीका सांसदहरूले अर्को चरणको निर्वाचनका लागि मतदान सुरु गर्नेछन् ।

सांसदको मतदानपछि जुलाई २१ सम्म उम्मेदवारको संख्या घटेर दुईमा सीमित हुनेछ । त्यसपछि पार्टीका सदस्यहरूले मतदान गरेर नयाँ नेता चयन गर्नेछन् । सेप्टेम्बर ५ मा बिजेता उम्मेद्वारीको घोषणा हुनेछ जो प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया