हतियार खरिदको तयारी, संसदमा एमालेको विरोध !
अखबार टुडे
प्रकाशित:
२०७९, २७ असार

काठमाडौं, २७ असार । नेकपा एमालेका सांसद नवराज सिलवालले अनावश्यक हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धन सरकारले कमिसन खानकै लागि नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको बताए ।

‘नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । प्रहरीका अधिकारीहरुलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक र प्रविधि चाहिएको छ’, सिलवालले भने, ‘११५० थान सटगन, एकहजार थान पेस्तोल र २५ हजार थान सेललगायतका हतियार खरिद गर्ने भन्ने बाहिर आइरहेको भन्दै यदि ति हतियारहरू खरिद गरिए राष्ट्रघात हुनेछ ।’

उनले गठबन्धनलाई कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस बनाउन लागिएको बताए । उनले ति हतियारको मूल्य ८४ करोडको एक तिहाइ पनि नपर्ने तर मूल्य बढाएर कमिसनकै लागि हतियार किन्न लागिएको आरोप लगाए ।

नेपाल प्रहरीका लागि हतियार खरिद गर्न सरकारले प्रक्रिया अघि बढाएको पाइएको छ । सञ्चार माध्यममा आएको खबर अनुसार इटलीको बेरेटा कम्पनीसँग हतियार खरिदको तयारी गरिएको हो । त्यसका लागि बजेट अन्य स्रोतबाट रकमान्तर पनि गरिसकिएको छ । यही महिनाको अन्त्यमा हतियार खरिदका लागि प्रतीतपत्र खोल्ने तयारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा अर्थमन्त्री जनार्दन शर्माले जाँदाजाँदै रकमान्तर गरेर हतियार किन्ने निर्णय भएको बुझिएको छ । जानकारीअनुसार ११५० थान १२ बोरका बन्दुक, एक हजार थान एमएमको पेस्तोल खरिदको तयारी गरिएको छ ।

यसमा व्यापारी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स् र त्यस अन्तर्गतको अर्को कम्पनीमार्फत किन्न लागिएको हो ।

प्रतिक्रिया