
काठमाडौ., २७ असार । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुवैले औपचारिक रूपमा राजीनामा नदिएसम्म निवास नछाड्ने बताएका छन् । शनिबार राष्ट्रपति गोटाबय राजपाक्षले पद छाड्ने जनाएको सभामुखले घोषणा गरेका थिए । तर, राष्ट्रपति आफैँले भने सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छैनन् ।
प्रदर्शनकारीले आफ्नो निवास घेराउ गरेपछि भागेका उनी श्रीलंकाको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनका भाइ तथा पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्ष देशका नौसैनिक आधार शिविरमा भएको स्रोतको भनाइ छ ।
महिनौँदेखि जारी विरोध प्रदर्शनपछि राष्ट्रपतिको राजीनामा माग गर्दै शनिबार राजधानी कोलम्बोमा दशौँ हजार मानिसले प्रदर्शन गरेका थिए । उनलाई देशको कमजोर आर्थिक व्यवस्थापनको लागि दोषी ठहराइएको छ । जहाँ महिनौँदेखि खाद्यान्न, इन्धन र औषधिको अभाव भएको छ ।
वर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्गले पनि शनिबारको विरोध प्रदर्शनसँगै निजी निवासमा आगो लगाइएपछि राजीनामा दिने बताएका छन् । तर, प्रदर्शनकारीले यी नेताहरूको नियतप्रति शंका गरिरहेका छन् । ‘हाम्रो संघर्ष सकिएको छैन’ विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले समाचार एजेन्सी एएफपीलाई भनेका छन् । ती विद्यार्थी नेताले राष्ट्रपति राजपक्षले वास्तवमै पद नछोडेसम्म संघर्ष जारी रहने बताएका छन् ।
‘आगामी दुई दिन अत्यन्तै अनिश्चित समय हुनेछ । राजनीतिक रूपमा के हुन्छ थाहा छैन’ राजनीतिक विश्लेषक र मानवअधिकार सम्बन्धी अधिवक्ता भवानी फोन्सेकले समाचार एजेन्सी रोएटर्ससँग बताएकी छन् । उनले यी दुई नेताले वास्तवमै राजीनामा दिन्छन् कि दिँदैनन् त्यो हेर्न चाखलाग्दो हने बताएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले श्रीलंकाको कुनै पनि नयाँ सरकारले तत्काल दीर्घकालीन आर्थिक स्थायित्वमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
श्रीलंकाको संसद्का सभामुखले बीबीसी वल्ड सर्भिसको न्यूज आवर कार्यक्रमलाई बताएअनुसार राष्ट्रपतिले आधिकारिक रूपमा राजीनामा गरेको एक साताभित्र गठबन्धनको नयाँ सरकार गठन गर्नुपर्छ । राष्ट्रपतिको दलका सदस्य महिन्दा यापा अबेवर्देनाले देशमा आर्थिक संकटको निम्तनुको दोष कोभिड–१९ लाई दिएका छन् ।
‘कोभिड महामारीले देशलाई आर्थिक रूपमा तहसनहस बनाएको छ त्यसैले हामीले सबै पैसा खोपमा खर्च गर्नुप¥यो’ उनले भनेका छन् ।
शनिवार भएको प्रदर्शनमा दर्जनौँ मानिस घाइते भए । कोलम्बोस्थित प्रमुख अस्पतालका प्रवक्ताले गोली लागेर घाइते भएका तीन जनाको उपचार गरिएको शनिवार एएफपी समाचार संस्थालाई बताएका थिए ।
रक्षा मन्त्रालयका स्रोतलाई उद्धृत गर्दै रोएटर्सले लेखेअनुसार राजपक्षले नियोजित विरोध प्रदर्शन सुरु हुनुअघि सुरक्षा सावधानी अपनाउँदै शुक्रबार भवन खाली गरेका थिए । यद्यपि यो उनको सरकारी निवास हो । उनी प्रायः नजिकैको छुट्टै घरमा सुत्छन् ।
प्रदर्शनकारीले कोलम्बोका प्रधानमन्त्री रनिल विक्रमासिङ्गको निजी घरमा पनि आगजनी गरेका थिए । उनले शनिवार आफू नागरिकको सुरक्षा सुनिश्चित गर्न र सर्वदलीय सरकारको लागि बाटो बनाउन राजीनामा दिन इच्छुक रहेको बताएका थिए । तर, उनको घोषणालगत्तै उनको घरमा आगो लगाइएको थियो ।
