जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति नेपालमा राष्ट्रिय शोक, विश्व नेताहरुले के भने ?
अखबार टुडे
प्रकाशित:
२०७९, २५ असार

काठमाडौं, २५ असार । गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार उपचारकै क्रममा अस्पतालमा निधन भएको थियो । ६७ वर्षीय आबेको हत्या भएकोमा नेपाल सरकारले घोर भत्र्सना गरेको छ ।

आबेको सम्मानमा नेपाल सरकारले असार २५ गते (शनिबार आज) राष्ट्रिय शोकको घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना जापानी समकक्षीलाई समवेदना सन्देश पठाउने आबेको हत्याप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा देउवाले ‘आबेको अन्त्य जापानका लागि मात्र नभइ विश्वकै लागि अपूरणीय क्षति भएको’ सन्देशमा उल्लेख गरेका छन् ।

आबेमाथि सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ । उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ । नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

भाषण गरिरहेका आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो गोली उनको गर्दनमा लागेको थियो । गोली लागेपछि उनी भुइँमा ढलेका थिए । उनको शरीर रक्ताम्मे देखिएको थियो ।

नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको थियो ।
नेपालका प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताले पनि आबेलाई ‘नेपालका असल मित्र’ भन्दै उनको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए।

पछि उनले आफू पेटको रोगबाट पीडित भएको बताए। योशिहिदे सुगा उनको उत्तराधिकारी बने। त्यसपछि फुमिओ किशिदा जापानको प्रधानमन्त्री बने।

विश्व नेताको प्रतिक्रिया
जापानमा सबभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेको हत्याप्रति विश्व नेताहरूले गहिरो दुख प्रकट गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले उनको निधनको खबरले आफू ‘अत्यन्त दुखित भएको’ बताएका छन् । ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन् ।

यस्तै, भारतमा पनि एक दिने शोक घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आबेलाई ‘विश्वका एक राजनेता’ भनेका छन् । टोक्योस्थित चिनियाँ दूतावासले समवेदना प्रकट गरेको छ ।

दुर्लभ घटना
जापानमा गोलीकाण्ड दुर्लभ मानिन्छ। जापानमा सन् २०१४ मा देशभरि केवल छवटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए । अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो।

जापानमा बन्दुक किन्न चाहने व्यक्तिले कडा परीक्षा दिनुपर्छ। उनीहरूको मानसिक स्वास्थ परीक्षण पनि गरिन्छ।

प्रतिक्रिया