गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार

काठमाडौं, २४ असार (एजेन्सी) । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको हो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो ।

आबे आइतबार संसदको माथिल्लो सदनका लागि हुने चुनाव प्रचार गर्दैथिए । नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ बर्षीया आबेमाथि गोली प्रहार भएको थियो ।

आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट बन्दुकसमेत बरामद भएको बताइएको छ ।

गोली हानेपछि भाग्ने कोसिस नगरेको र सुरक्षाकर्मीले घटनास्थल नजिकैबाट उनलाई नियन्त्रणमा लिएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार उनी जापानको मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्वसदस्य हुन् ।

उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे । मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ । गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ । गोली लागेपछि उनी भुइँमा लडेको र रगताम्य भएको तस्वीर सामाजिक सन्जालहरुमा देखिन्छ ।

उनी सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भएका थिए । उनी सन् २००६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए तर एक वर्षभित्रै राजीनामा दिनुपरेको थियो । उनले सन् २०२० मा पनि अस्वस्थताका कारण प्रधानमन्त्री पद त्यागेका थिए ।

प्रतिक्रिया