बलात्कार मुद्दामा हद म्याद बढाइयो
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार

काठमाडौं, २४ असार । शुक्रबार बसेको संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकले बलात्कार मुद्दामा हद म्याद बढाउन सहमति जुटाएको छ ।

समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको हो ।

बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हद म्याद बढाउन सहमति भएको छ । समितिले जुटाएको सहमित अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पर्ने छ । यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नु पर्ने छ ।

थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिना भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । उनीहरुको हकमा तीन महिना औषधि उपचार गर्नका लागि समय दिइएको छ ।

सभापति कृष्णभक्त पोखरेलका अनुसार अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया