जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली हान्ने को हुन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार

काठमाडौं, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट बन्दुकसमेत बरामद भएको बताइएको छ ।

गोली हानेपछि भाग्ने कोसिस नगरेको र सुरक्षाकर्मीले घटनास्थल नजिकैबाट उनलाई नियन्त्रणमा लिएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार उनी जापानको मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्वसदस्य हुन् । उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे । मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ ।

गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ । गोली लागेपछि उनी भुइँमा लडेको र रगताम्य भएको तस्वीर सामाजिक सन्जालहरुमा देखिन्छ ।
चुनावी अभियानअन्तर्गत शुक्रबार बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहादा आबेमाथि गोली प्रहार भएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोली लागेपछि बहोस भएर ढलेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । प्रधानमन्त्री फुमिओ किशिदाले यो घटनालाई बर्बरतापूर्ण आक्रमण भनेर निन्दा गरेका छन् ।

पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको घटनाको अमेरिकाले पनि निन्दा गरेको छ । यो घटनालाई नजिकबाट नियालिरहेको भन्दै ह्वाइटहाउसले शिन्जो आबेको परिवार र जापानी नागरिकको साथमा रहेको जनाएको छ ।

प्रतिक्रिया