काठमाडौं, २४ असार । आइसिसी टी–२० विश्वकप २०२२ ‘ट्रफी टुर’ सुरू भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसीले शुक्रबारदेखि ट्रफी टुर सुरू जनाएको हो ।
उक्त ट्रफी आगामी ३० अगस्टमा अस्ट्रेलिया हुँदै काठमाडौं ल्याइने छ । तर, ट्रफि काठमाडौंका कुन–कुन स्थानमा राख्ने भन्नेचाहिँ तय भइसकेको छैन । ट्रफी नेपालबाट सिंगापुर लगिने जनाइएको छ ।
ट्रफी टुर विभिन्न १३ देशका ३५ स्थानमा गरिनेछ । नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआटुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो । अस्ट्रेलियाको ७ शहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरू हुँदैछ ।
१३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुने तालिका छ । प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ ।
नेपालले गत वर्ष ओमानमा भएको छनोट खेलमा भाग लिएको थियो । तर सेमिफाइनलमा युएईसँग पराजित भएपछि विश्वकप २०२२ मा छनोट हुन असफल बन्यो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप संयुक्तरूपमा आयोजना गर्दैछन् ।