मौद्रिक नीति कसिलो बनाउने राष्ट्र बैंकको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष २०७९/८० को लागि कसिलो मौद्रिक नीति तयारी गरेको छ ।

राष्ट्र बैंकले सकभर यसै महिनाको अन्तिममा नत्र साउनको पहिलो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

विभिन्न सरकारी तथा निजी क्षेत्रका सङ्घ संस्थाको सुझाव लिएर अहिले मौद्रिक नीति निर्माणको अन्तिम चरणमा पुगेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले आउँदो वर्षको मौद्रिक नीति कसिलो हुने सङ्केत दिइसकेको छ । ब्याजदर बढ्ने, आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय मौद्रिक नीतिमा समेट्ने तयारी भइरहेको छ ।

यस्तै, बजेटले लिएको लक्ष्य अनुसार ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा मौद्रिक नीति केन्द्रित हुनेछ । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति बनाउने तयारी गरिरहँदा निजी क्षेत्रले भने लचक मौद्रिक नीतिको अपेक्षा गरेको छ ।

आयातमा कडाइ गर्न नहुने, ब्याजदर बढाउन नहुने, तरलता अभाव हुन नदिने, निक्षेप कर्जाको अनुपात ९५ प्रतिशत पर्याएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, शेयर कर्जामा रहेको ४ देखि १२ करोड रुपैयाँको सीमा हटाउनुपर्ने लगायतका माग निजी क्षेत्रको रहेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले उत्पादनमूलक क्षेत्रमा दिने कर्जाको ब्याजदर ४ प्रतिशतले कम गर्नुपर्ने, महिलाले आफ्नो नाममा २५ लाख रुपैयाँसम्म बैंकमा रकम जम्मा गर्दा स्रोत खुलाउनु नपर्ने, कच्चा पदार्थबाहेक कृषिजन्य वस्तु र सामग्रीको आयातमा रोक लगाउनुपर्ने लगायतका माग राखेको छ ।

प्रतिक्रिया