पश्चिमा देशको उक्साहटमा लागेर युक्रेनले आफ्नो अस्तित्व गुमाउँदै छ: पुटिन
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार

काठमाडौं, २४ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देश र अमेरिका लगायतका देशको उक्साहटमा लागेर युक्रेनले आफ्नै अस्तित्व खतरामा पारिरहेको बताएका छन् ।

इन्डोनेसियामा सुरु भएको जी–२० का देशहरुको सम्मेलनकै समयमा मस्कोमा सांसदहरुको भेलालाई सम्बोधन गर्दै पुटिनले पश्चिमा देशको उक्साहटकै कारण युक्रेनले आफ्नो अस्तित्व गुमाउँदै गएको र आउँदा दिन झनै दुःखदायी हुने पनि चेतावनी दिए ।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एकजना मान्छे मात्रै रहँदासम्म पनि पछि नहट्ने बताएको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनले यस्तो जिद्दी युक्रेनी नागरिकको लागि त्रासदीपूर्ण भएको बताए ।

सम्बोधनका क्रममा पश्चिमा देशप्रति आक्रामक देखिएका पुटिनले यदि कसैले रुसलाई हराउने दुस्साहस राख्छ भने उसलाई युद्धको मैदानमा स्वागत गर्न तयार रहेको पनि बताएको बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी अन्तिमदेखि रुसले युक्रेनमा आक्रमण थालेपछि पश्चिमा देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउनुका साथै युक्रेनलाई आर्थिक तथा सैन्य सामग्री सहयोग गरिरहेका छन् ।

इन्डोनेसियामा सुरु भएको जी–२० देशका नेताहरुको बैठकमा रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ पनि सहभागी भएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशले रुससँग कुटनीतिक वार्ता नगरेको अवस्थामा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, बेलायत लगायतका देशका विदेशमन्त्रीसहितको जी–२० को सम्मेलनलाई महत्त्वकासाथ हेरिएको छ ।

प्रतिक्रिया