मेयरका लागि किनिएको सरकारी गाडी बेचेर रोलर किन्ने हर्क साम्पाङको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २४ असार

काठमाडौं, २४ असार । सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले मेयरलाई भनेर किनिएको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय गरेका छन् ।

बाटोका खाल्डाखुल्डी पुर्न रोलर किन्ने निर्णय भएको मेयर साम्पाङले बताएका हुन् ।

‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो! आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ! जय धरान!,’ मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

मेयर साम्पाङले निर्वाचित भएकै बेला आफूले नगरको सरकारी गाडी नचढ्ने घोषणा गरेका थिए । जसअनुसार मेयरका लागि भनेर यसअघि किनिएको स्कार्पियो गाडी प्रयोगविहीन छ । मेयर साम्पाङ आफ्नै मोटरसाइकलमा कार्यालय आउने–जाने गर्छन् । धरानबाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन् ।

यस्तै, हिजो बसेको कार्यपालिका बैठकमा उपमहानगरको बजेट पारित गर्न अवरोध गरेको भन्दै मेयर हर्क साम्पाङ वडाध्यक्षहरुप्रति कडा आक्रोश पोखेका थिए ।

गत असार १० गते धरान उपमहानगरले एक अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । उक्त बजेटमा खासगरि, उपमेयर कोषलाई लिएर दलीय जनप्रतिनिधिहरूले आपत्ति जनाएका थिए । यही विवादले बजेट पारित हुन सकिरहेको थिएन ।

साङपाङले भने स्वतन्त्र उम्मेदवार भएर जितेको मेयरलाई वडाध्यक्षहरूले विभिन्न बहाना गरेर असफल बनाउन खोजेको आरोप लगाए । उनले आफूलाई ‘स्वतन्त्र भनेर हेपेको’ समेत टिप्पणी गरे ।

बैठकको सुरूमै साम्पाङको आक्रोशित अभिव्यक्ति यस्तो थियो
तपाईंहरूको नियत के हो ? स्वतन्त्रले जित्यो, यसलाई उ गर्नुपर्छ भन्ने हो ? कि के हो ? यो बजेट त तपाईंहरूले नै बनाएको हो त । मैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्या हो र ? मैले कुनै पनि कुरामा हस्तक्षेप ग¥या छैन । आफैंले बनाएको कुरा आफैं जिम्मा नलिने भन्न मिल्छ ? आफैंले जन्माएको छोरा मेरो होइन भन्दिने ? के म्यासेज जान्छ ?

के तपाईंहरुको आशय पार्टीकै मेयर आउनुपर्छ भन्ने हो ? धराने जनताको म्यान्डेटलाई त्यस्तो भन्न खोज्नुभएको हो ? निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार मतले जितेर आएको हो म । तपाईंहरूले स्वीकार्ने कि नस्वीकार्ने ? धराने जनतालाई के जवाफ दिनुहुन्छ ? जहिले जहिले आएको छ, एउटा एउटा कुरा गरेको छ ।

हेर्नुस् यो तपाईंहरूले बनाएको बजेट हो । मैले केही गरेको छैन । कसलाई कति रूपैयाँ दिने भनेर तपाईंहरूले नै छुट्याएको हो । उपमेयर कोष राख्ने नराख्ने आजै निर्णय गर्नुस् । जहिले जहिले बैठक सारेको छ । कहिले बजेट पास गर्ने ? ८० सालको साउनमा पास गर्ने ? बजेट पास नभए वडा कसरी चलाउनुहुन्छ ? गोजीको पैसाले चलाउने ? डोनेसन मागेर चलाउँ न त । मैले त मागिरहेको छु । तपाईंहरु पनि डोनेसन मागेर चलाउनुस । नत्र कसरी चलाउने त ?

नगरपालिका मेरो मात्रै ठेक्का हो ? जनताले तपाईंहरूलाई पनि चुनेर पठाएको छ । पास भएन भने प्रमुखले जिम्मा लिनुपर्छ । यो हो तरिका हाम्रो ? के भनेर आउनुभो चुनिएर ? यसै गर्छु भनेर आउनुभो ? यति धेरै गैरजिम्मेवार नबन्नुस् । तपाईंहरूको यो कार्यपालिकाको बैठक, नगरसभा विगतमा पनि मैले हेर्दै आएको छु । यसपालि चैं स्वतन्त्र मेयर आयो भनेर हेपेको ? म को हुँ ? धराने जनताको म्यान्डेट लिएर आएको निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार मतले हराएर आएको हुँ, हेक्का रहोस् ।

मेयरको यस्तो अभिव्यक्तिपछि एकाध वडासदस्यले टेबुल ठोकेर समर्थन गर्छन् । तर, केही वडाध्यक्ष उत्तेजित बन्दै हल्लाखल्ला गरे । वडा नम्बर १२ का वडाध्यक्ष टंकबहादुर राईले बजेटको किताब टेबलका ठोक्दै बम्किए, ‘हेरौं कसरी बजेट पास हुँदो रहेछ ? यसरी हुन्छ ?’

अन्य कार्यपालिका सदस्यले पनि होहल्ला गरेपछि उपमेयर अइन्द्रविक्रम बेघाले थामथुम पार्ने कोसिस गरे । उनले स्वतन्त्रबाट जितेको भन्दैमा दलका प्रतिनिधिहरूले विरोधमात्रै गर्न नहुने बताए । बजेट पारदर्शी ढंगले ल्याएको र आफूले उपमेयर कोष नमागेको उनको भनाइ थियो ।

उपमेयरको सम्बोधनपछि बैठक शान्त भयो र छलफल अघि बढ्यो । हिजै बसेको नगरसभा बैठकले उपमहानगरको बजेट पारित गरेको छ ।

प्रतिक्रिया