चीनबाट बेलायत र अमेरिकालाई किन खतरा ? यसो भन्छ गुप्तचर निकाय
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार

काठमाडौं, २३ असार । बेलायत र अमेरिकालाई ‘चीनबाट ‘ठूलो खतरा’ रहेको त्यहाँका गुप्तचर निकायले बताएका छन् । बेलायत र अमेरिकाका गुप्तचर निकायका प्रमुखहरूले पहिलो पटक संयुक्तरुपमा यस्तो चेतावनी दिएको हो ।

बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीन अमेरिकाको आर्थिक र राष्ट्रिय सुरक्षाकबच लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा रहेको बताएका छन् ।

उनले हालै भएको चुनावसहित अन्य राजनीतिक गतिविधिमा हस्तक्षेप गरेको दावी गरेका छन् । एमआई फाइभ प्रमुख केन म्याकलमले आफूहरूले पछिल्लो तीन वर्षमा चिनियाँ गतिविधिविरुद्ध पहल दुई गुना बढी बनाएको र यो क्रम अझै जारी राख्ने बताएका छन् ।

यूकेको सुरक्षासम्बन्धी निकाय एमआई फाइभले सन् २०१८ को तुलनामा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान ७ गुना बढी तीव्र बनाएको उनले बताएका छन् ।

यस्तै, एफबीआईका रेले चीनले ताइवानलाई जबरजस्ती नियन्त्रणमा लिए उसले ‘विश्वले देखेको सबैभन्दा डरलाग्दो व्यापारिक प्रतिबन्धहरूमध्ये एक भोग्ने’ चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

दुई निर्देशकले लन्डन टेम्स हाउसस्थित एमआई फाइभको मुख्यालयबाट पहिलो पटक संयुक्त सार्वजनिक उपस्थिति जनाएका हुन् । जहाँ म्याकलमले चिनियाँ कम्युनिस्ट पार्टीले खडा गरेको चुनौतीले व्यापक प्रभाव पारेको बताएका थिए ।

विभिन्न व्यवसायका प्रमुख कार्यकारी र विश्वविद्यालयहरूका वरिष्ठ व्यक्तिहरूलाई सम्बोधन गर्दै रेले चिनियाँ सरकार उपकरणहरूको प्रयोग गरेर प्रविधि चोर्न तयार रहेका चेतावनी दिए । यसबाट पश्चिमी व्यवसायहरूमा धेरै व्यवसायीहरूले ठानेकोभन्दा अझै गम्भीर खतरा भएको उनको भनाइ छ ।

उनले चीनले ‘ठूलो मात्रामा ठगी र चोरी’ गर्नका लागि साइबर जासुसलाई तैनाथ गरेको समेत बताए । जसअन्तर्गत एक ठूलो ह्याकिङ कार्यक्रम रहेको उनको दावी छ । एमआई फाइभ प्रमुखले साइबर धम्की बारे गोप्य जानकारी ३७ देशहरूलाई दिइएको जानकारी दिए ।

एफबीआई निर्देशकले भने चिनियाँ सरकारले न्यूयोर्कमा भएको संसदीय चुनावमा चीनले प्रत्यक्ष हस्तक्षेप गरेको दावी गरे । चीनले तियानानमेन स्क्वायरमा भएको घटनाका आलोचक र पूर्व प्रदर्शनकारी समेत रहेका एक जना उम्मेदवार निर्वाचित नहोऊन् भन्ने हेतुले त्यसो गरेको उनले बताए ।

उनीहरूले त्यसका लागि एक निजी अनुसन्धानकर्ता नियुक्त गरेको आरोप लगाइएको छ । उनीविरुद्ध केही नभेटेपछि कार दुर्घटना र यौनकर्मीको प्रयोग गरेर विवाद सिर्जना गर्ने प्रयास भएको एफबीआई निर्देशकको भनाइ छ ।

युक्रेनको युद्धबाट चीनले ‘सबै किसिमका पाठ’ पढिरहेको रेले दावी गरेको बीबीले जनाएको छ । जसअन्तर्गत रुसविरुद्ध लगाइएका जस्ता प्रतिबन्धहरूबाट आफूलाई जोगाउने चीनको प्रयास समेत समाविष्ट भएको उनको तर्क छ । उनले चीनले ताइवानमा आक्रमण गरेको खण्डमा आर्थिक अवरोध यस वर्ष देखिएको भन्दा व्यापक हुने समेत चेतावनी दिए ।

प्रतिक्रिया