बोरिस जोनसनले पार्टी नेतृत्वबाट राजीनामा दिने, प्रधानमन्त्री पदमा कायमै रहने
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार

काठमाडौं, २३ असार । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् ।

उनको सरकारमा सहभागी कनिष्ठ मन्त्रीसहित दर्जनौं सांसदहरूले राजीनामा दिएपछि चर्को दबाबको सामना गरिरहेको प्रधानमन्त्री जोनसनले बिहीबार पार्टी नेतृत्व छोड्न लागेका हुन् ।

राजीनामा दिन उनीमाथि चौतर्फी दबाब थियो । कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिए पनि उनी केही समयसम्म प्रधानमन्त्री पद कायमै रहने जनाइएको छ ।

कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि जोनसन नै प्रधानमन्त्री हुने भएका हुन् । बीबीसीका अनुसार टोरी दलको सम्मेलनमार्फत आगामी अक्टोबरमा नयाँ प्रधानमन्त्री चयन गरिनेछ ।

यसअघि हिजो बुधवार उनले ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट व्यापक जनादेश पाएको र त्यो जारी रहने बताएका थिए ।

बुधबारसम्म बेलायका अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले जोनसनप्रति असन्तुष्टि जनाउँदै सरकारमा निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए ।

जोनसनले देशलाई शासन गर्न सक्छन् भन्ने विश्वास नभएकाले राजीनामा दिएको उनीहरूले बताएका छन् ।

पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो । उनले यौन दुराचारको आरोप लागेका सांसद क्रिस पिंचरलाई बढुवा गरेको भन्दै प्रधानमन्त्री जोन्सनको ब्यापक आलोचना भएको छ ।

त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए । कोरोनाभाइरसको महामारी सुरू भएपछि देशलाई लकडाउनमा राखेर आफूले भने प्रधानमन्त्री निवासमा भोज गरेको सार्वजनिक भएको थियो । उक्त विषयले बेलायती राजनीतिमा तरंग ल्याएको थियो र छानबिन पनि भएको थियो ।

प्रतिक्रिया