बुढीगंगा निर्वाचनमा तनाव, प्रहरीद्वारा हवाइफायर
अखबार टुडे
प्रकाशित:
२०७९, २३ असार

बाजुरा, २३ असार । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवाद सिर्जना भएपछि प्रहरीले गोली नै चलाएको छ ।

वडा नम्बर ९ स्थित त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा तनाव सिर्जना भएको हो ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही हवाई फायर पनि गरेको छ । यद्यपि कति राउन्ड हवाई फायर गरेको भन्ने खुलिसकेको छैन ।

मतदान गर्न १०÷१० जना गरेर भित्र पठाउने क्रममा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको बताइएको छ । विवादपछि झडप हुँदा दुई जना घाइते समेत बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार दुई पक्षका एजेन्टबीच झगडा बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाई छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उनले बताए । अहिले निर्वाचन पुनः सुरू हुने अवस्थामा रहेको जनाइएको छ ।

बुढीगंगामा गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि पुनः निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार छन् ।

आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया