तुइनबाट खसेर एक किशोर महाकालीमा बेपत्ता, खोजी कार्य तिव्र बनाउन गृहमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

दार्चुला, २२ असार । तुइनबाट खसेर महाकाली नदीमा बुधबार एक किशोर बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठालघाटस्थित तुइनबाट खसेर स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन् ।

भारतबाट घर फर्कने बेला बुधबार दिउँसो तुइन तरिरहेको अवस्थामा तुइनमा बाँधिएको डोरी टुटेर बुढाथोकी महाकाली नदीमा खसेका थिए ।

भारत उत्तराखण्ड राज्यको धारचुला तहसिलअन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

बेपत्ता किशोरको खोजीका लागि घटनास्थलमा सुरक्षाकर्मी पुगेका छन् । बेपत्ताको खोजीमा महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका वडाध्यक्ष सिंहले बताए ।

गत वर्ष दार्चुलाकै सीमा क्षेत्रस्थित महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए । महाकालीमा नदीमा पुल नबन्दा स्थानीय तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

खोजी कार्य तिव्र बनाउन गृहमन्त्रीको निर्देशन

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले तुइनबाट खेसर वेपत्ता भएका बुढाथोकीको खोजीकार्य तिव्र बनाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीको खोजी कार्य तिव्र बनाउन निर्देशन दिए ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी कार्य तिव्र बनाउन गृहमन्त्रीले निर्देशन दिएको तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताए । बिहीबार थप फौज पठाएर खोजी कार्य तिव्र बनाइने उनले बताए ।

प्रतिक्रिया