बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा राजीनामा, प्रधानमन्त्री जोनसनलाई झट्का
अखबार टुडे
प्रकाशित:
२०७९, २२ असार

लन्डन, २२ असार (एजेन्सी) । बेलायतका दुई वरिष्ठ क्याबिनेट मन्त्रीहरूले मङ्गलबार राजीनामा दिएका छन् । प्रधानमन्त्री बोरिस जोनसनको नेतृत्वको विरोध गर्दै अर्थमन्त्री र स्वास्थ्यमन्त्री राजीनामा दिएका हुन् ।

बेलायतका अर्थमन्त्री ऋषि सुनकले आफ्नो राजीनामा पत्रमा सरकारलाई ‘सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्नुपर्ने’ बताएका छन् ।

सुनकले ट्विटमा भनेका छन्, ‘सरकारले सही, दक्ष र गम्भीरताका साथ चलोस् भन्ने जनताको अपेक्षा छ । मलाई थाहा छ यो मेरो अन्तिम मन्त्रीको काम हुन सक्छ, तर मलाई विश्वास छ कि यी मापदण्डहरूको लागि लड्न लायक छ र त्यसैले म राजीनामा गर्दैछु,’ उनले भने ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा सुनकले भनेका छन्, ‘सरकार छाड्दा दुःख लागेको छ तर यसरी निरन्तरता दिन नसक्ने निष्कर्षमा म अनिच्छुक छु ।’

यस्तै, स्वास्थ्यमन्त्री साजिद जाविदले पनि जोनसनको नेतृत्वको विरोधमा राजीनामा दिएको समाचार संस्था सिएनबिसीले जनाएको छ । दुई मन्त्री सुनक र जाविदको राजीनामापछि प्रधानमन्त्री जोनसनले दुःख व्यक्त गरेका छन् । मंगलबार राति धेरै निजी सचिवहरूले पनि राजीनामा दिए बताइएको छ ।

जोनसनले मंगलबार साँझ नै पूर्व शिक्षा सचिव नदिम जाहावीलाई बेलायतको नयाँ अर्थमन्त्री र स्टिभ बार्कलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।

दुवै मन्त्रीले प्रधानमन्त्रीसँग काम गर्न सहज वातावरण नभएको भन्दै राजीनामा दिएपछि जोन्सन अप्ठेरोमा परेका छन् । यी दुई मन्त्रीको राजीनामासँगै गत महिना अविश्वासको प्रस्तावबाट बचेका प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको दवाव बढेको छ ।

यसअघि यौन दुराचारको आरोप लागेका सांसद क्रिस पिंचरलाई बढुवा गरेको भन्दै प्रधानमन्त्री जोन्सनको ब्यापक आलोचना भएको थियो । सोही घटनालाई लिएर रक्षा र स्वास्थ्य मन्त्रीले राजीनामा दिएको अनुमान गरिएको छ ।

गत महिना बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीका ५० भन्दा बढी सांसदहरुले प्रधानमन्त्री जोन्सनको राजीनामा माग गरेको थिए ।

प्रतिक्रिया