अमेरिका : स्वतन्त्रता दिवशको परेडमा गोली चल्दा ६ जनाको मृत्यु, २४ जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, २१ असार


काठमाडौं, २२ असार । अमेरिकाको शिकागो सहरनजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा एक जना बन्दुकधारीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । आक्रमण संलग्न ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बीबीसीले जनाएअनुसार स्थानीय समय १० बजे अचानक विस्फोटक आवाज सुनिएपछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो । उक्त आक्रमणमा अन्य २४ जना घाइते भएको समाचारहरुमा जनाइएको छ ।

घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय हुन् । हतियारधारी ती व्यक्तिलाई प्रहरीले खतरनाकको संज्ञा दिएको छ । सन्दिग्धले उच्च क्षमता भएको राइफलले परेडमा सहभागीहरूलाई लक्षित प्रहार गरेको प्रहरीले जनाएको छ ।

सन्दिग्ध बन्दुकधारीले परेड सुरु भएको केही मिनेट पछि, स्थानीय समय अनुसार १०ः१५ मा गोली चलाएका थिए ।
सहरको स्वतन्त्रता दिवस समारोहमा साङ्गीतिक ¥यालीदेखि अन्य सामुदायिक मनोरञ्जनात्मक कार्यक्रमहरू तय भएका थिए । तर, वर्षको सर्वाधिक रमाइलो दिनहरूमध्ये एक हुनुपर्ने उक्त दिनमा आतंक भएको हो ।

सन्दिग्ध व्यक्तिले नजिकैको पसलको छतबाट आम मानिस लक्षित गोली प्रहार गरेको बताइएको छ । त्यहाँबाट प्रहरीले बन्दुकको बरामद गरेको छ ।

गोलाबारीमा परी पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारको क्रममा नजिकैको अस्पतालमा मृत्यु भएको हत्या सम्बन्धी अनुसन्धान गर्ने स्थानीय अधिकारीले बीबीसीसँग बताएका छन् ।

सन् १७७६ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको उपलक्ष्यमा अमेरिकी उपनिवेशहरूले हरेक वर्ष ४ जुलाईको दिन राष्ट्रिय बिदा मनाउँछन् ।

प्रतिक्रिया